त्यो गीतको एउटा हरफ सम्झन्छु, जताततै आँशु-आँशु, कोलाहल छ वरीपरी। हो साँच्चै, कि त संसारमा जताततै यस्तै भइरहेको हुनुपर्छ, कि त मान्छेलाई यस्तै समाचारमा मात्र रुची हुनेहुनाले कतै मिसाइल हमला त कतै भ्रष्टचार, कतै डर त कतै प्रदुषणका समाचारहरू। के मान्छेलाई राम्रा भन्दा नराम्रा समाचारहरू बढी रुचीकर लाग्छ? कि साँच्चै संसार भ्रष्ट नै हुँदै छ? इरानले इराकमा रहेको अमेरिकी आर्मी अखडामा गरेको मिसाइल हमलाको CNN भिडियो भर्खर सकेर थप “स्टीमुलेन्टस्” का लागि फेसबुकलाई घिसार्दै थिएँ, अनि MCC का बारेमा अनेक टिप्पणीहरू पढे। नेपाल “मीड्ल् इस्ट” हुनबाट कति टाढा छ भनेर दुरी नाप्न खोज्दै थिएँ। अनि देश भित्रकै भ्रष्टाचार र मनलाग्दीका समाचारहरू। म यसो सोच्छु, त्यो एउटा दुर्गम गाउँको अनपढ कृषक वा भरिया सोच्दो हो कि उ त्यो परिवेशमा वा त्यो घरमा जन्मिएर गरिव छ, वा दुखी छ। उसलाई थाहा हुँदैन किन उसले किनेर खाने तेलको मुल्य किन यति छ? उसलाई थाहा हुँद‍ैन नेपालमा किन ७७ जिल्ला भए। उसलाई थाहा हुँदैन किन आजकाल पृथ्वी जयन्तीमा बिदा हुँदैन?

थाहा छ, किन २२ वर्ष बुढो हुदाँ पनि किन मेलम्ची रसाएन? अनि थाहा छ, विरेन्द्र किन मारिए? किन सत्यमाथि यस्तो बलात्कार? अनि के म यही हेर्दै टुलुटुलु बस्नु? वा यही हेर्दै अनि भौतिकशास्त्री बन्नु वा कुनै बैज्ञानिक बन्नु? मानिस् साँच्चै भोक सँग संघर्ष गरिरहेका छन्, अनि अरबौ-खरबौँ किन धुँवा र खरानी बन्छ? मानिस साँच्चै अझै पशु नै छ है? मान्छेले किन आखा भएर पनि केही नदेखेझैँ बस्न सक्छ? मानौँ तपाईँको अगाडि एउटा बच्चा लड्यो।के तपाईँ उसलाई उठाउने चेष्टा गर्नु हुन्न? ठीक त्यसैगरी संसरमा यति धेरै मानिसहरू पलपल दुखमा छन्, लड्दै, घस्रदैँ छन्। के तिनलाई उठाउन चेष्टा गर्नु पर्दैन हामीले? कि नजिक र आखा अगाडि मात्र त्यो सत्यता हो, अनि केही टाढा चैँ फ्री टिकेटवाला मुभी? के दी लडेका मानिसहरूलाई उठाउन नपाउँदा हामीलाई पीडा हुनु पर्ने होइन? म सोच्छु कि मानिसका करूण क्रन्दनबाट टाढा कतै खोलाको किनारमा गएर स्वासको चिसो अवलोकन गर्दै बस्नु? अनि त्यो अबलोकन बाट केही निचोड पाउने आशा राख्नु कि नराख्नु? एकतिर सापेक्ष सत्यमाथिको प्राहार, अर्कोतिर सम्भाव्य निरपेक्षसँगको अज्ञात दुरी। … अनि म अजीव मान्दै आफैँलाई प्रश्न गर्छु कि के म ठीक त छु! के मेरो मनमा केही अशान्ति वा अज्ञानताको अभिव्यक्त स्वरूप मात्र देखिरहेको पो हो कि म बाहिरी संसारमा? के संसारमा राम्रा कामहरू वा कुराहरू, मानिसहरू अनि कर्महरू भइरहेका छैनन् र? म आफूले आफूलाई न‍ै फरक भौतिक र मानसिक धरातलमा लैजानुपर्ने पो हो कि?


Last Updated: Wednesday, Jan 16, 2020, 01:04 (+0545) NPT